भारतबाट बिजुलीको आयातमा वृद्धि

काठमाडौं । हिउँद लागेसँगै नेपालमा भारतबाट बिजुली आयात बढेको देखिएको छ । जलविद्युत उत्पादनका लागि पानीको मात्रा घटेसँगै नेपालमा बिजुलीको आयात बढेको हो ।

नेपालको आन्तरिक माग धान्नुपर्ने बाध्यतासँगै भारतसँग निर्यात मूल्यभन्दा बढी मूल्यमा बिजुली आयात गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपरेको छ ।

सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाब घट्दा नेपालभित्रको आन्तरिक उत्पादन घट्छ । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । प्राधिकरणले चालु आव निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरिएको जनाएको छ ।