महाधिवेशनको तयारीमा जुट्यो एकीकृत समाजवादी

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशनको तयारी तीव्र पारेको छ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुन लागेको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी,विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए।

उनले व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख,कार्यप्रगतिको विवरण समेत बुझाएको जानकारी दिए।

केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको उनको भनाई छ ।

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक,समाजवादी,विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाएको बताइएको छ।

सो पार्टीले सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका  बनाएको छ।साथै तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज थप समृद्ध बनाइने र चार वटै दस्तावेजलाई एउटै साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले बताएका छन् ।