काठमाडौं। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए ।
उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन । ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ ।’
धेरै कलेजहरूमा अहिले विद्यार्थी कम छन् । कक्षा १२ को जाँच दिने बित्तिकै हाम्रा विद्यार्थीहरू विदेश पलायन हुन थालेका छन् । अमेरिका भेट्यो भने, त्यसपछि क्यानडा, नभए अस्ट्रेलिया, अन्तिममा जापान छँदै छ, दक्षिण कोरिया छँदै छ । यसरी हाम्रा विद्यार्थीहरू पलायन भइरहेका छन् । विद्यार्थीहरूका लागि स्वदेशमै हामीले केही व्यवस्थापन गर्न सकेका छैनौँ ।’
