
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
जिल्लामा यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए ।
विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।
‘चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्’, उनले भने, ‘यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान गरिएको छ ।’
दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् ।
तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताए ।
विगत चार वर्षदेखि जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उनले बताए ।
‘जिल्लाको कावासोती नगरपालिका(८ देखि १७, गैंडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका(१७, मध्यविन्दु नगरपालिका २ र ३, विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका(३ र बौदीकाली गाउँपालिका(४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्’, उनले भने ।
