
एजेन्सी । गर्मी बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा पानीको हाहाकार हुन थालेको छ । दिल्लीमा प्रतिदिन करिब १३ सय मिलियन ग्यालिन पानी आवश्यक रहेपनि दिल्ली जल बोर्डले एक हजार मिलियन ग्यालिन पानी मात्र उत्पादन गरेपछि पानीको हाहाकार हुन थालेको हो ।
दिल्लीबासी गर्मी र जल संकटको दोहोरो मारमा परेको बीबीसीले जनाएको छ । सुप्रिम कोर्टले हिमान्चल प्रदेश सरकारको राष्ट्रिय राजधानीको लागि १३७ क्युसेक अतिरिक्त पानी थप गर्न आदेश दिएको छ । हरियाणालाई यसको प्रवाह सुविधाजनक बनाउन आग्रह गरेको छ ।
दिल्लीका जलमन्त्री आतिशीले शुक्रबार दिल्लीमा पानीको उत्पादन लगातार कम भएको र यसो हुनुमा यमुना नदीमा कम पानी रहेको जनाएकी थिइन् ।
तथ्यांक सार्वजनिक गर्दै मन्त्री आतिशीले जुन ६ मा एक हजार दुई मिलियन ग्यालिन प्रतिदिन (एमजीडी) उत्पादन रहेकोमा घटेर ९९३ मिलियन ग्यालिन प्रतिदिन पुगेको छ । जुन ९ मा ९९० मिलियन ग्यालिन प्रतिदिन भएको थियो । उनले १००५ एमजीडी पानीको उत्पादन दिल्लीका लागि चाहिएकोमा १४ जुनमा केबल ९३२ एमजीडी पानीको उत्पादन भएको थियो ।
अर्थात् ७० एमजीडी पानी कम भएको थियो । अभाव सम्बोधन गर्न ट्यांकरबाट पानी वितरण गरिएको उनले जनाएकी छन् ।
