गृहमन्त्रीको निलम्बनको माग राख्दै दायर गरिएको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । सर्वाेच्च अदालतमा गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा परेको छ । लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । गृहमन्त्रीका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ ।

रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’ देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो ।