निर्देशक समाजले  ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना गर्ने

काठमाडौं । चलचित्र निर्देशक समाजले ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना गर्ने भएको छ । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजनामा कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा फेस्टिभल हुन लागेको हो ।

फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कला संस्कृतिसँग नजिक रहेका फिल्म फेस्टिभलको विशेष प्राथमिकतामा पर्नेछ ।

फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको सहभागिता रहने फेस्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका विभिन्न कार्यक्रम समेत आयोजना हुने निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले जानकारी दिए । फेस्टिभलको तयारी समेत सुरु भइसकेको उनले बताए ।