एमाले नागार्जुन कमिटिको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न,आइतबार नेतृत्व चयन

सीता पौडेल (अर्चना)

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) नागार्जुन नगर कमिटिको उद्घाटन सत्र सम्पन्न भएको छ ।

आज शनिबार स्वयम्भु स्थित स्टार बैंक्वीटमा एमाले केन्द्रिय उपाध्यक्ष एवम् पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता र वर्तमान अध्यक्ष नन्दनहरी गौतमको सभाध्यक्षतामा सो अधिवेशनको उद्घाटन सत्र÷समारोह समापन भएको हो।बिहान ११ बजेदेखि शुरु भएको सो सामारोह साँझ ६ बजे सम्पन्न भएको थियो।भने,उद्घाटनसत्र पश्चात बन्दसत्र पनि शुरु भएर विभिन्न प्रतिवेदन उपर छलफल थालिएको एमाले नागार्जुन,१ वडा कमिटिका अध्यक्ष एवं प्रतिनिधि जुजून लामाले जानकारी दिए।

नगर कमिटिका वर्तमान अध्यक्ष गौतमका अनुसार अधिवेशको बन्द सत्रले भोलि आइतबार नै नयाँ नेतृत्व चयन गर्ने छ।एमाले नागार्जुनको नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष तथा केन्द्रले दिएको निर्देशन र कार्यदिशालाई अवलम्बन गरेर सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गरिने तयारी भएको उनको भनाई छ।साथै उनले उद्घाटन सत्रले एमालेकी केन्द्रिय सदस्य एवम् नगरपालिका इन्चार्ज शान्ती अधिकारी मल्लको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डलसमते गठन गरिसकेको र नेतृत्व चयनको प्रकृया अगाडि बढाएको जानकारी दिएका छन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा केन्द्रिय उपाध्यक्ष शाक्यले मनमुटाव नगरी सकेसम्म सर्वसम्मतीले नेतृत्व चयन गर्न आग्रह गरिन्।एमाले नागार्जुन नगरकमिटि पार्टी कमिटिको मात्रै नभएर समग्र नागार्जुन नगरपालिकाकै नेतृत्वमा प्रभावकारी भूमिका खेल्ने कमिटि भएको हुँदा अन्य अग्रजले समेत विगतको गम्भिर समिक्षा गर्ने र घनिभूत छलफल गरेर मात्रै अगाडी बढ्न हौसला,प्रेरणा र सहयोग गर्नु पर्ने आवश्यक्ता औंल्याइन्।

 

यसैगरि उनले पार्टीले लिएको मिसन ०८४को अभियानलाई सार्थक पार्न यस क्षेत्रबाट माथिल्लो कमिटिमा प्रतिनिधित्व गर्ने मन्त्री,सांसद र अन्य पार्टीको उच्च पदस्थ नेताहरुले नागार्जुनले विगतमा भोग्नु परेको पराजयको  कारण खोजी गरि  बन्दसत्रमा नै गम्भीर समिक्षाका लागि उचित भूमिका खेल्नु पर्ने जरुरी रहेको बताइन्।

यस्तै सो समारोहमा बागमती प्रदेशका उद्योग,बाणिज्य तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले २०७४को स्थानीय तहको निर्वाचनमा एमालेको उपस्थित बलियो भए तापनि गठबन्धनका कारण मेयर पद गुमाउन परेको स्पष्ट पार्दै इतिहास,वर्तमान र भविश्यले पनि मुलुकको विकास र समृद्धिको आधार एमाले भएको जिकिर गरे।

उनले भने,‘एमाले नगर कमिटिले उल्लेखनीय भूमिक खेल्दै आएपनि गठबन्धनका कारण चाहे जस्तो उपलब्धि हाँसिल गर्न सकिएन् ।दलीय गठबन्धन हुँदा पनि एमालेले मेयर पदमा झिनो मतले मात्रै पराजय भोग्न बाध्य हुन प¥यो।’

साथै मन्त्री श्रेष्ठले सबल,सक्षम,समावेशी,सन्तुलित र सबै वडा कमिटिलाई एकताबद्ध बनाएर लैजान सक्ने र मिशन ०८४को अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने नेतृत्व चयन गर्नु पर्ने जरुरी रहेको बताएका छन् ।यस अधिवेशनबाट विवादरहित तरीकाले सकेसम्म सर्वसम्मतीले नेतृत्व चयन गर्न पनि उनले सुझाएका छन् ।

समृद्ध नागार्जुन,सुखी नागार्जुनवासी बनाउनका लागि उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्न अवश्यक रहेको भन्दै उनले युवा र महिला उद्यमशीलता लगायतका विषयमा पनि आफ्नो पहलमा आवश्यक बजेट छुट्टाइएको हुनाले यसको उचित लाभ लिन पनि सबैलाई आग्रह गरे।

सो उद्घाटन सत्रमा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् एमाले काठमाठौं जिल्ला इन्चार्ज आनन्द पोखरेल,केन्द्रिय सदस्य एवम् नगरपालिका इन्चार्ज शान्ती अधिकारी मल्ल,प्रदेश किमिटि सदस्य एवम् इन्चार्ज सपना अर्याल,काठमाडौं जिल्ला कमिटिका नवनिर्वाचित सचिव राजेश शाक्य,नागार्जुन नगरपालिकाकी उप–प्रमुख शुशिला अधिकारी,प्रदेश सांसद्(समानुपातिक)बालकुमारी विश्वकर्मा (गोमा),तारकेश्वर नगरकमिटिका नवनिर्वाचित अध्यक्ष बासु गौतम लगायतले शुभकामना मन्तव्यसहित सर्वसम्मतीका माध्यमबाट नेतृत्व चयन गर्नु पर्ने धारणा प्रस्तुत गरेका थिए। 

 

समारोहमा नगरकमिटिका पदाधिकारी तथा सदस्य प्रतिनिधिहरु,१० वटै वडाका वडा कमिटिका प्रतिनिधिहरु पार्टी निकटका जनप्रतिनिधिहरु,अनेमासंघ,युवा संघ,जिफन्ट लगायत विभिन्न जनवर्गाीय संगठनका प्रतिनिधिहरु लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति  रहेको थियो।

सो बन्दसत्रका लागि विभिन्न क्षेत्रबाट २ सय ३ जना प्रतिनिधिहरु छनौट भएको एमाले नागार्जुन कमिटिले जनाएको छ ।

समारोहमा कलाकारहरुले नृत्य तथा विभिन्न किसिमका गीत संगीत प्रस्तुत गरेका थिए ।