रोटरी क्लब अफ कुपण्डोलको २४ औँ स्थापना दिवस : बोर्ड सदस्यहरुलाई सम्मान,शिर मेमोरियल अस्पताललाई ‘सिटी स्क्यान मेशिन उपलब्ध गराउने

सीता पौडेल (अर्चना)

ललितपुर ।रोटरी क्लब अफ कुपण्डोलले २४ औँ स्थापना दिवस मनाएको छ ।

बिहिबार क्लबले रोटी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा ललितपुर स्थित सांग्रिला ब्लु होटलको  सभाहलमा एक समारोहको आयोजना गरि आफ्नो २४ औँ स्थापना दिवस मनाएको हो ।

क्लबक अध्यक्ष नबराज बरालले स्थापना दिवसका दिन क्लबका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको जानकारी दिए ।सो स्थापना दिवसको अवसरम अध्यक्ष बरालले रोटा वर्ष २०२३ ÷२४ मा क्लबलाई गतिशिल बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै बोर्ड सदस्यहरुलाई प्रशंसापत्रले सम्मान गरेका थिए।

 

साथै कार्यक्रममा रोटा वर्ष २०२४ ÷२५ को नयाँ कार्यसमितिमा अध्यक्ष लोचन जोशी सहितको नयाँसमितिले पदस्थापन समेत गरिएको थियो ।

औपचारिक रुपमा पदस्थापन गर्दै नवनिर्वाचित अध्यक्ष जोशीले निजी स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवा गर्नु नै रोटरी र रोटरीयनहरुको मुल धर्म र मर्म रहेको हुनाले  रोटरीको यस मर्मलाई आत्मसाथ गरि रोटरीलाई आफ्नो कार्यकालमा  सामाजिक सेवामा थप चलाएमान बनाउने प्रतिबद्वता जाहेर गरे । 

क्लबले अमेरिकामा रहेको ‘रोटरी क्लब अफ बेल्भ्यू’को आर्थिक सहयोगमाअपाङ नवजीवन केन्द्रमा विगत १२ वर्षदेखि एउटै परियोजना सञ्चालन गरेको छ । 

सो परियोजना अन्तर्गत क्लबले विशेष गरि द्वन्द्व प्रभावित बालबालिकाहरु रहेको त्यस संस्थाका बालबालिकाहरुको स्वास्थ्य उपचार र शिक्षामा सहयोग गर्ने गरेको  अध्यक्ष  बरालले बताए ।

अध्यक्ष  बरालका अनुसार क्लबले यस्ता बालबालिकाहरुको लागि स्वास्थ्य र शिक्षालाई मध्येनजर गर्दै  कक्षा कोठाको साजसज्जा, रङरोगन, स्वास्थय शिविर अन्तर्गत आँखा शिविर सञ्चालन सँगै क्लबका सदस्यले बालबालिकासँगै आफ्ना जन्मदिन मनाउने गरेका छन्।

पछिल्लो समय क्लबले करिब साढे चार लाख डलर बराबरकोे ग्लोबल ग्रान्ट प्राप्त गरेको र सो ग्लोबल ग्रान्टका लागिबनेपा स्थित शिर मेमोरियल अस्पताललाई सिटी स्क्यान मेशिन र अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराउने तयारी गरेको वर्तमान अध्यक्ष बरालको भनाई छ।

यो सँगै क्बलले नुवाकोट,धादिङ,गोर्खा र ललितपुर जिल्लामा खानेपानी,विद्यालय भवन निर्माण, विभिन्न विद्यालयमा बालिकामैत्री शौचालय निर्माण लगायतका विविध परियोजनाहरु सञ्चालन गरेर सम्पन्न पनि गरिसकेको जनाएको छ।

समारोह रोटरी डिस्ट्रिक्ट,३२९२ नेपाल ÷भूटानका रोटा वर्ष २०२३ ÷२४ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु, इमिडेट पाष्ट डिस्ट्रिक्ट गभर्नर जितेन्द्रराज भण्डारी सहित काउन्सिल अफ गभर्नर,डिस्ट्रिक्टका विभन्न पदाधिकारी एवं प्रतिनिधिहरु,विभिन्न रोटरी क्लबका प्रतिनिधिहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

सन २००१ मा २८ जना सदस्यबाट स्थापना भएको  रोटरी क्लब अफ कुपण्डोलमा हाल ३३ जना सदस्य छन् ।डा. रविन्द्र श्रेष्ठ क्लबका संस्थापक अध्यक्ष हुन ।