‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

काठमाडौं ।‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ ।

नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा सो समारोह सम्पन्न भएको हो ।

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष,महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभाअध्यक्षता सम्पन्न उक्त समारोहमा सभाध्यक्ष क्षेष्ठले विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदालगायत नेपाल,भारत, युकेलगायत देशबाट आएका अतिथीहरुलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई  धन्यवाद दिएकी थिईन।

प्रतिनिधि सभाका उप–सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरु लगायत सात सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो। 

समारोहमा कला साहित्य र सँस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब ४ दर्जन बढि प्रतिष्ठित व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।जसमा नेपालबाट करिब तीन दर्जन र भारतबाट करिब डेढ दर्जनभन्दा बढि व्यक्तित्वहरुले अवार्ड प्राप्त गरेका थिए ।

नेपालका चर्चित कलाकारहरु गायकद्धय आनन्द कार्की र यम बरालको प्रस्तुती रहेको समारोहमा भारतिय कत्थक डान्सरहरुको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरुले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शो समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी उपसभामुख रानाले यस्ता कार्यक्रमहरुबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुबै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइन् । उपसभामुख रानाले दुई छिमेकी मुलुकको कला र संस्कृतिको सम्बर्द्धनको लागी महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीकोे खुलेर प्रसंसा गरिन् ।

उक्त समारोहमा वलिउड अभिनेत्री जय प्रदालाई सम्मान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेश कुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गरेका थिए । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोश्रो घर भएको र यसरी नेपालीको माया पाउदा आफु निकै हर्षित भएको भन्दै खुसी समेत व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा अभिनेत्री जय प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिएकी थिइन् ।उनको नृत्यमा उपस्थित दर्शकहरुले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए ।

संचारकर्मी दिनेश डिसीले संचालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाईनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल,निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईटेल लगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताए ।

साथै अभिनेत्री प्रदाले साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतलाई आफ्नो तर्फबाट सम्मान समेत गरिन् ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी,अभिनेत्रीत्रय बसुन्धारा भुषाल,चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी,राजाराम पौडेल,देविका बन्दना, राजु सिंह,नारायण प्रधानका साथै अभिनेता सरोज खनाल,संगीतकार शम्भुजित बासकोटा जस्ता सांगितिक र सिने क्षेत्रका चर्चित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसैगरि सो समारोहमा प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाल,नेपाली सेनाका सहायक रथि राजन अधिकारी, लोकप्रिय भारतिय गुगल आन्टि ७९,प्रिमिला हिंगोरोनी,युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया,भारतिय प्रख्यात व्यक्तित्व सविता राणा भारती,प्रतिष्ठित व्यबसायी एवं सामाजिक अभियान्ता डा.अनुप शर्मा भारतिय चर्चित डान्सर हिमांशु द्धिवेदी, टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा.अर्पणा शाह,चेम्बरका पदाधिकारीहरु,पर्यटनविद,संस्कृतिविदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका लागि २ दिने नेपाल भ्रमणमा आएकी अभिनेत्री प्रदासँगै भारतबाट अन्य विभिन्न क्षेत्रका झण्डै ५० जना व्यक्तित्वहरु पनि नेपाल आएका थिए।समारोहमा उनीहरुको पनि सहभागिता रहेको थियो।