पहिरोले साँफे(मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार राजमार्गको बुढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएको बताए । राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।