
तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ ।
कार्यालयले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ ।
सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताए। सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृषकलाई वितरण गरिएको थियो ।
त्यस्तै १७ मिनीटिलर, ४८ स्प्रेयर, ६ डिजिटल तराजु, दुई ड्याङ बनाउने मेसिन तथा ९२ क्रेट खरिद गरिएको छ । यस्तै दुई सय ३५ मिटर पक्की कुलो निर्माण, एक हजार ६ सय ८३ मिटर पाइप तथा तीन वटा पम्प खरिद गरिएको छ ।
