
काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री ओलीले आजै देशवासीका नाममा सम्बोधन पनि गर्दैछन्।
सम्बोधनका क्रममा सहमती पत्र सार्वजनिक गर्न कांग्रेस महामन्त्री गगन थापाले माग गरेका छन्।
नेकपा एमालेले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।
प्रधानमन्त्री ओलीलाई सत्ता घटक दलहरू नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ।
नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले भने मत नदिने बताएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १,राष्ट्रिय जनमोर्चा १,स्वतन्त्र २ सांसदले मत कता दिने विषयमा निर्णय गर्न बाँकी छ।संसदमा हाल कायम संसद् सङ्ख्या मध्ये विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ।
संसद् सचिवालयका उपसचिव तथा सूचना अधिकारी दशरथ धमलाका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभामा प्रधानमन्त्रीले सुरुमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। सोपछि संसदमा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्रबाट एक–एक जना प्रतिनिधिले आफ्ना धारणा राख्नेछन्।
दुई प्रमुख दलबिच सत्ता साझेदारी गर्ने सहमतिअनुसार एमाले अध्यक्ष ओलीलाई चौथो पटक मुलुकको प्रधानमन्त्री हुने अवसर मिलेको छ।
दुई प्रमुख दलको सहमतिअनुसार सुरुको दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको छ।
