नागार्जुन–१ रानीवनको स्वीमिङ पुल सञ्चालनमा,पौडी खेल्नेको घुँइचो,कति लाग्छ शुल्क ?

सीता पौडेल (अर्चना)

काठमाडौं ।काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–१ रानीवनमा निर्माण भएको स्वीमिङ पुल(पौडी पोखरी) सञ्चालनमा आएको छ ।

स्वीमिङ पुल सञ्चालनमा आएसँगै पौडि खेल्नेहरुको घुइँचो देखिन थालेको छ। ‘ट्रपिकल ट्यान’ नाम दिइएको उक्त स्वीमिङ पुलको ‘ग्राण्ड ओपनिङ’ भने यहि आउँदो १९ गते शनिबार हुने सञ्चालक महिम डंगोलले सगरमाथाप्रेस डटकमलाई बताए ।

उनले अघिल्लो हप्ताबाट सञ्चालनमा ल्याइएको सो पुल हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने र यसमा ठुला व्यक्तिहरु,साना बालबालिकाहरु र अति साना बालबालिकाहरुका लागि गरि तीन प्रकारको टिकट दर कायम गरिएको बताए ।

सञ्चालक डंगोलका अनुसार स्वीमिङ गरेबापत ठूला व्यक्तिहरुका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ,३ फिट भन्दा माथिको उचाई भएका बालबालिकाहरुका लागि प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क लाग्छ ।यस्तै ३ फिट भन्दा मूनिका बालबालिकाहरुलाई भने २०० रुपैंयाँ मात्रै र अभिभावकसँग खेल्ने बालबालिकालाई कत्ति पनि शुल्क नलाग्ने तर यसमा अभिभावकको मात्रै शुल्क लिइने उनको भनाई छ ।

साथै उनले समय अवधि नतोकिएकोले  शुल्क तिरेपछि जति मन लाग्छ त्यति समय स्वीमिङ गर्न सकिने बताए।

महिमका बुवा मचाराजा डंगोलका अनुसार यहाँ स्वीमिङ सिक्ने व्यवस्था पनि गरिएको छ।१५ दिनसम्म हरेक दिन एक घण्टाको कक्षा हुन्छ।यस अवधिमा स्वीमिङ सिक्न १५ दिनको १० हजार रुपैयाँ शुल्क लाग्ने उनको भनाई छ।

स्वीमिङ गर्न जाँदा साथमा के के लैजाने ?

स्वीमिङमा गर्न जाँदा स्वीमिङ कस्ट्युम अनिवार्य लैजानुपर्छ । साथै लामो समय स्वीमिङ गर्ने वा सिक्दै गरेको हो भने भने हेयर क्याप र चश्मा पनि लैजानुपर्छ ।घामबाट बच्न वाटरप्रुफ सनस्क्रिन लैजानु राम्रो हुन्छ ।

त्यस्तै बच्चाहरूलाई स्वीमिङ गराउन लैजाँदा ट्युब पनि अनिवार्य लैजानुपर्छ।स्वीमिङ गरिसकेपछि जीउ पुछ्न टावेल आवश्यक पर्ने हुँदा टावेलसमेत साथै लैजानुपर्छ ।

यदि स्वीमिङ कस्ट्युम लगायत माथि उल्लेखित सामाग्री लैजान बिर्सियो भने पनि कतिपय सामाग्री त्यहीँ किन्न पनि पाइने सीइओ हनी डंगोलले बताइन् ।उनका अनुसार झण्डै २ रोपनी क्षेत्रफलमा फैलिएको सो पुलमा प्रसस्त पार्कि«ङको पनि व्यवस्था  छ ।साथै, रेष्टुरेन्ट पनि छ ।

यहाँ बालबालिकाका लागि १ देखि डेढ फिट गहिरो  छुट्टै पौडी पोखरी छ ।भने, ठुला व्यक्तिहरुका लागि साढे तीनदेखि साढे सात फिटसम्म गरिराईको पौडी पोखरी छ।