
१७, भदौ सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले नै भर्ना, मासिक शुल्कलगायतका शुल्क व्यहोर्ने भएको छ । स्नातक अध्ययन गर्ने विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यार्थी बढाउन गापाले भर्ना, मासिक शुल्कलगायतको शुल्क छात्रवृत्ति स्वरुप व्यहोर्न लागेको हो ।
सुनकोशी गापामा दुई क्याम्पस छन् । वडा नं ७ मा सुनकोशी क्याम्पस र वडा नं १ मा ठोकर्पा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । ती क्याम्पसहरुमा व्यवस्थापन र शिक्षा सङ्काय पढाइ हुन्छ । तर स्नातक अध्ययन गर्ने विद्यार्थीहरुको रुचिमा दुवै क्याम्पसमा नपरेपछि क्याम्पस सञ्चालनमा मुस्किल परिरहेको छ ।
विद्यार्थी अभावमा क्याम्पस बन्द गर्नुपर्ने समस्या आउन नदिन गापाले विद्यार्थीको भर्ना, मासिक शुल्क व्यहोर्ने भएको हो । सुनकोशी गापाका सात वडाका विद्यार्थीले मात्रै उक्त सुविधा पाउने छन् ।
आर्थिक वर्षदेखि स्नातक अध्ययन गर्ने विद्यार्थीले भर्ना हुन चाहेमा उक्त सुविधा पाउने छन् । पालिकाभित्रका विद्यार्थीहरु गापाभित्रकै क्याम्पसमा स्नातक अध्ययन गर्न चाहेमा सो गापाले नीति तथा कार्यक्रममा पनि भर्ना, मासिक शुल्क व्यहोरिदिने निर्णय गरेको अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जनाकारी दिए ।
