कर्मचारीलाई लुम्बिनीका मुख्यन्त्रीको १४ बुँदे निर्देशन जारी

६, असोज बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् ।

मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि निर्देशन जारी गरिएको हो ।विगतमा प्रदेश सरकारको वजेट खर्च सन्तोषजनक नभएको, अनुदान वितरण र सरकारी खर्चमा मनपरी भएको,बेरुजू हरेक वर्ष बढेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

यसअघि मन्त्रिहरूका लागि आचारसंहिता जारी गरेका मुख्यमन्त्री आचार्यले मन्त्रालय र मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन जारी गरेका हुन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त बनाउन दिर्नेशन दिएका छन् ।

प्रदेश स्थित निकाय तथा कार्यालयहरुले सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्न, आर्थिक गतिविधिमा मितव्ययीता कायम गर्न, खरिद एवं जिन्सी व्यवस्थापन, सूचना व्यवस्थापन एवं गुनासोको प्रभावकारी सम्बोधन गर्न, निकायगत समन्वय, अनुगमन एवं प्रतिवेदनका साथै सार्वजनिक जवाफदेहिता र सुशासन प्रबद्र्धनका लागि जारी गरिएको निर्देशन लागु हुँदा प्रदेशवासीमा सरकारप्रति विश्वास जागृत हुने मुख्यमन्त्रीको विश्वास छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी भएको निर्देशनमा सेवाग्राही मैत्री सेवालाई प्राथमिकतामा राखिएको छ ।प्रत्येक मन्त्रालयले अनिवार्य रुपमा ई(हाजिरी को प्रबन्ध मिलाउने, ई(हाजिरीलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सँग अनिवार्य आवद्ध गर्ने, कर्मचारीको विदा, काज तथा भ्रमण स्वीकृत गर्दा कार्यसम्पादन सेवा प्रवाहमा असर नपर्ने सुनिश्चित गरेर मात्रै गर्ने, बिदा, काज तथा भ्रमण स्वीकृति अनिवार्य रुपमा जिआइओएमएस प्रणाली मार्फत गर्ने, कार्यालयमा अनावश्यक मौज्दात नरहने गरी एवं आवश्यकता र औचित्यका आधारमा मात्र जिन्सी सामान खरिद गर्ने निर्देशनमा उल्लेख छ ।