
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यबाहक मेयर सुनिता डंगोलले नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।
विगत वर्षहरूमाझैँ काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिइन् ।
नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको छ।
आर्थिक वर्ष २०८३÷८४ को लागि नगरसभाको सो बैठकमा प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रम कार्यान्वयनबाट काठमाडौंको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा नगरपालिकाको छ ।
महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्ताव गरेको उनले बताइन् ।
