
३१ जेठ, काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि) देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो ।
भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।
जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अहिले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताएका छन् ।भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपेको उद्योगीहरूको गुनासो छ ।
निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तीको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ ।
उद्योग बन्द हुँदा चिया किसान, श्रमिक र व्यवसायीहरूमा मर्का परेको छ ।
