
सीता पौडेल(अर्चना ) २१ कार्तिक,काठमाडौं । नेकपा (एमाले)काठमाडौंले आगामि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।उपनिर्वाचन हुन लागेका सो जिल्लाका ४ वटै सीटमा एमाले काठमाडौंले सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको हो।
आज बुधबार कामपा वडा नं १६ को नयाँबजार स्थित मल्टि भेन्युमा बसेको नेकपा (एमाले)काठमाडौं जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले वडा नं १६ को वडा अध्यक्ष पद,कृर्तिपुर नगरपालिकाको प्रमुख पदसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष निरौलाले वडा र नगर कमिटीले सर्वसम्मत रुपले उम्मेदवार छनौट गरेका कारण पनि सो सिफारिसलाई सजिलै अनुमोदन गरेर प्रदेश कमिटीमा पठाइएको बताए।साथै उनले प्रदेशले पनि सो सिफारिसलाई सर्वसम्मत तवरबाट अनुमोदन गर्ने र सोहि नामावली नै निर्विरोध रुपमा केन्द्रमा सिफारिस हुने आशा व्यक्त गरे।

उनले भने, ‘१६ नं वडाको अध्यक्षको उम्मेदवारमा एमाले १६ नं वडा कमिटी र माहानगर कमिटीले सर्वसम्मत सिफारिस गरेका लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीलेसमेत सर्वसम्मतिले स्वीकार गरेर प्रदेशमा सिफारिस गरिसकिएको छ । प्रदेशबाट पनि सर्वसम्मतिले अनुमोदन गरेर केन्द्रमा सिफारिस गर्ने आशा मैले राखेको छु ।’

यद्यपि एमाले प्रदेश कमिटीका इन्चार्ज, केन्द्रिय महासचिव, पोलिटब्युरो सदस्यहरु र केन्द्रिय सदस्यहरुसमेतको उपस्थितिमा बैठक बसेको हुनाले प्रदेशले पनि सोही उम्मेदवारहरुलाई सर्वसम्मतिमा सिफारिस गर्ने र केन्द्रलेसमेत अघोषित रुपमा अनुमोदन गरिसकेको भन्दै एमालेलेले काठमाडौंमा सबै उम्मेदवार सर्वसम्मत रुपमा चयन गरिसकेको भन्न मिल्ने अवश्था रहेको पोलिटब्युरो सदस्य तथा क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राईले बताए ।

इन्चार्ज राईका अनुसार तल्ला कमिटिहरुले सर्वसम्मत एकल÷ एकल उम्मेदवार सिफारिस गरेका कारण पनि सोही उम्मेदवारहरुको नामावली नै केन्द्रिय सचिवालय बैठकले औपचारिक निर्णय गरि सार्वजनिक गर्ने देखिन्छ ।
बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले समेत सर्वसम्मतिमा उम्मेदवार सिफारिस गर्नु नै एमालेले आधा–आधी जित हाँसिल गरिसकेको उद्घोष गर्नुले पनि सोहि नामावली नै अन्तिम नामावली हुने पक्कापक्की रहेको इन्चार्ज राईको भनाई छ ।
एमाले कीर्तिपुर नगर कमिटीले सर्वसम्मतिमा नगरपालिकाको मेयर उम्मेदवार सिफारिस गरेका डा.सुरेन्द्र मानन्धरको नामलाई जिल्ला कमिटीले पनि सर्वसम्मतिले स्वीकृत गर्दै उपल्लो कमिटीमा सिफारिस गरेको छ ।
बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको नामावलीलाई अनुमोदन गरि सर्मसम्मत सिफारिस गर्ने निर्णय गरेको पनि अध्यक्ष निरौलाले जानकारी दिए ।

कुनै पनि उम्मेदवारका नाममा विवाद नभएकाले यी स्थानको उपनिर्वाचनमा आधाआधी जित हाँसिल गरिसकेको दाबी गर्दै बैठकपश्चात उनले काठमाडौंका ४ वटै स्थानमा एमालेको लालकिल्ला बनाउन सबै लाग्नु पर्ने आवश्यकता औंल्याइएको बताए।
भोलिदेखि नै अत्यावश्यक काम बाहेकका कामकाज छोडेर उपनिर्वाचनको तयारीमा जुट्न र परिचालित हुन एमाले काठमाडौंले सबै नेता,कार्यकर्ता र शुभचिन्तकहरुलाई अनुरोध गरेको छ ।
