बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी

१२, मंसिर कर्णाली । ‘बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना तथा पूर्वकार्य प्रोटोकल निर्माण’सम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ ।

कर्णाली प्रदेशमा बाढी पहिरो, चट्याङलगायत बहुप्रकोपका विषयमा मङ्गलबार सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी सम्पन्न भएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले संविधानको अनुसूचीमा व्यवस्था गरिएको र ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ऐन, २०७४’ लागु भइसकेकाले त्यसैका आधारमा विपद् जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई स्रोतसाधनसम्पन्न बनाउनुपर्ने बताए ।

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बस्तीहरू नदी तथा खोला किनार र भिरोलो ठाउँमा भएकाले ती सबै बस्तीको व्यवस्थापन र विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने योजना बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला प्रशासनले सूचना प्रणालीलाई प्रभावकारी बनाएको भन्दै उनले विपद्बाट बच्न प्रत्येक बस्तीमा साइरन जडान गर्न सुझाए ।