
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।
‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रूपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो ।
यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’त्यस्तै, उनले सहकारी समस्या समाधान नहुँदा पचासौँ लाख साना बचतकर्ताहरू मर्कामा परेको भन्दै त्यसको समाधानका लागि लाग्नुपर्ने बताए ।
