१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

२३, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यताका कारण संसद् सेवा प्रभावकारी हुन नसकेको बताएका छन् । आइतबार १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानुनमै टेकेर संसद् चलिरहेको उल्लेख गर्दै उक्त कानुनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए । सांसदहरू आफू कानुन बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानुन निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ ।

उनले नेपालको संसदीय उपलब्धि र अभ्यासहरू अन्य देशको सांसदसँग तुलना गर्न नमिल्ने पनि बताए । संसद् सेवालाई थप प्रभावकारी बनाउन कानुनी रूपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद् सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।