अधिकारलाई सदुपयोग गरेर देशको निर्माणमा लाग्नु पर्छ : उपप्रधानमन्त्री सिंह

२५, मंसिर काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वर वसन्तनगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको बताए ।

उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धी हासिल भएको बताए ।