गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह

४, पुस काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सङ्कटमा पर्दा नेपालका ठुला दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन् ।

राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, “तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ ।” उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री समय पूरा भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । गठबन्धन सरकारबिचको यो समझदारीमा तलमाथि नहुने उनले स्पष्ट पारे ।