डा. निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु

४, पुस काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा.निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।

डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।रविका समर्थकहरूले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन् ।

तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।

’भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।

‘भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण उनले दिएका छन् ।