
५, पुस काठमाडौँं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा विद्यूत आपूर्ति नहुँदा उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर नाफा कमाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपालमा अब लोडसेडिङ नहुने बताए ।उनले अहिले पनि लोडसेडिङ नभएर प्राविधिक समस्यामात्र रहेको भन्दै नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको दाबी गरे ।
घिसिङले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ ।
