
१३, पुस महोत्तरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्। मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो।
खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुलं) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए ।
मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो। जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरुको स्वागत गरेका छन्। नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए।
