माघे सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाइ प्रदर्शनी

१, माघ नुवाकोट । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरिएको छ ।

माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि  तारुका र बेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् ।

‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ’, संयोजक श्रेष्ठले भने, ‘जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपुर मनोरञ्जन दिन प्रदर्शनी केन्द्रित गर्ने लक्ष्य लिएका छौँ ’ उनले भने।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रम मार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने संयोजक श्रेष्ठको भनाइ छ ।