
२, माघ काठमाडौं । ललितपुरस्थित कृषि विभागको परिसरमा रैथाने बाली प्रदर्शन भइरहेको छ । माघ १ गते पर्ने तेस्रो जैविक विविधता दिवसको अवसरमा भएको रैथाने बाली प्रदर्शन माघ ३ गतेसम्म जारी रहने छ । सो परिसरमा करिब सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी किसानका ३० वटा रैथाने वस्तु बालीका स्थल छन् ।
त्यहाँबाट रैथाने वस्तु खरिद गर्न सकिने छ । यसले उपभोक्ता र उत्पादनकर्तालाई जोड्ने विभागले आस राखेको छ । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता मनाइँदै छ । सोमबार पत्रकार सम्मेलन मार्फत कृषि विभागले नेपाल जैविक विविधताले धनी राष्ट्रहरूमध्ये नेपाल ४९ औँ स्थानमा रहेको जनाएको थियो ।
नेपालमा करिब २४ हजार जीवित प्रजातिहरूका रहेका र सोमध्ये करिब १ तिहाइमा कृषि क्षेत्रले योगदान गर्ने गरेको परिप्रेक्ष्यमा कृषि जैविक विविधताको महत्त्वपूर्ण स्थान रहेको भए तापनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधताको अलावा कृषि जैविक विविधताको हासलाई तीव्र बनाएको विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले बताए ।
