
७, माघ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य नभनेको दाबी गरेका छन् ।
पछिल्लो समय दुई दलीय व्यवस्थाको पक्षमा वकालत गरिरहेका महासचिव पोखरेलमाथि जबजको मर्मविरुद्ध बोलेको आरोप लाग्ने गरेको छ । यस्तै आरोपको खण्डन गर्दै उनले सोमबार बिहान सामाजिक सञ्जालमा एक लामो विचार राखेका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस’ शीर्षकमा विचार राख्दै उनले लेखेका छन्, ‘जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोच्नु पनि उचित हुँदैन ।’
महासचिव पोखरेलले नेपालको संविधानले दुई मान्यताका बीचको राजनीतिक ध्रुवीकरणलाई अपरिहार्य मानेको उल्लेख गरेका छन् । कम्युनिष्ट पार्टीबीच ध्रुवीकरण हुनुपर्ने आशयको मत राख्दै उनले लेखेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा भएको विभाजन आजको यथार्थ हो । तर भविष्यमा पनि यस्तै भइरहनुपर्दछ भन्ने कुरा वर्ग दृष्टिकोणका आधारमा गलत हो ।’
