
८, माघ काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् ।
सोमबार उनी संघीय सरकारले खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार धरानलाई खानेपानी माग्दै रित्तो गाग्रीसहित सिंहदरवार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् ।
खानेपानी समस्या लिएर सांकेतिक रूपमा रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालय जान लागेका मेयर सम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ। यति बेला सिहंदरवार परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
सिहंदरवारभित्र पनि प्रहरीको बाक्लो उपस्थिति छ।गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
