घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

८, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरू घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दै छौ,’ उनले भने, ‘म यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दै छौँ र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौँ ।’

अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।