
१८ माघ, काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई बयानका लागि अदालत पेश गरिएको बताए । ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी काम अब अदालतबाट हुनेछ’, नेउपानेले भने । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।
मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।
तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं। १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन ।
