
२५ माघ, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ ।
शुक्रबार आयोगका सह—सचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै आगामी बिहीबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयवाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जनाएकी छन् ।
कुनै व्यक्ति पेसा,व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए आवश्यक प्रमाण सहित आयोगको वेवसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गर्न सकिन्छ ।त्यस्तो व्यक्तिको नाम र स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ ।भने,नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्न नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आवश्यक पर्ने आयोगको भनाई छ ।
मतदाताले मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउन सक्छन् ।मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि पनि आवेदन दिन सकिने विज्ञप्तीमा उल्लेख छ ।
यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थगित गरिएको थियो ।
