
२६, माघ काठमाडौं । एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटर आकारको ट्यूमर निकालिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले हालै ३९ वर्षीया महिलाको डिम्बासयबाट उक्त ट्यूमर शल्यक्रिया गरी सफलतापूर्वक निकालेका हुन् ।
मोरङकी ती महिलाको शल्यक्रिया प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा। रमेश श्रेष्ठको नेतृत्वमा भएको सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए ।
सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु हो । महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ ।
