
२६, माघ काठमाडौं । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ माघ २२ गतेदेखि फाल्गुण ०६ गतेसम्म देशव्यापी रूपमा एचपीभी खोप अभियान संचालन गरिरहेको छ । खोपबारे कतिपय नागरिक विश्वस्त हुन नसकेको पाइएपछि नेपाल चिकित्सक संघ निश्चिन्त भई खोप लगाउन आग्रह गरेको छ ।
खोप विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तरयुक्त प्रमाणित गरिएको र नेपालमा यसको प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको हुनाले निश्चिन्त भई बालिकाहरूलाई खोप लगाइदिन अभिभावकलाई संघले आग्रह गरेको हो । यस अभियानमा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिने काम भइरहेको छ ।
