
सीता पौडेल
३० माघ,काठमाडौं । बुढानीलकण्ठ नगरपालिका (बुनपा) र शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा यहि फागुन २ र ३ गते गर्ने भनिएको ‘चौथो वृत्ति तथा रोजगार मेला–२०८१’ को सम्पुर्ण तयारी पुरा भएको छ ।आज बुधबार बुनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर नगरपालिकाले सो मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
“शिक्षा,सीप र उद्यमशिलता,रोजगारी हाम्रो प्राथमिकता” भन्ने नारासहित हुन लागेको सो मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको मेला मूल आयोजक समितिका संयोजक नगर प्रमुख मीठाराम अधिकारीले जानकारी दिए ।२०७८ सालदेखि यस प्रकारका मेला आयोजना गरिसकेको बुनपाले ती मेलाबाट रोजगारमूलक सीप विकासका तालिम लिन चाहने एवम् रोजगारीको खोजिमा रहेका युवाहरुको तथ्यांकसमेत संकलन गरेको र यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको पनि नगर प्रमुख अधिकारीले पत्रकार सम्मेलनमा बताए ।

युवा रोजगारी तथा वृत्ति परामर्शलाई विशेष प्राथमिकतामा राखेर आयोजना गरिएको सो मेला समाप्त भएको एक दिनपछि मेलाको प्रभावकारिता बारे समिक्षा समेत गरिने पनि उनले उद्घोष गरे ।साथै उनले गाउँपालिकादेखि नगरपालिका हुँदासम्मको यो परिवेशमा करिब ५० हजार जनालाई विभिन्न प्रकारका सीप मूलक तालिम दिइसकेको इतिहास केलाउँदै कतिपयले सिकेको सीपको सदुपयोग गर्दै व्यवसाय समेत सञ्चालन गरिरहेको र उत्पादन गरेका बस्तुलाई विदेशमा समेत निर्यात गर्न सक्षम भई मनग्य अर्थाेपार्जन गर्न थालेको पनि उदाहरण प्रस्तुत गरे।
युवाहरुले विदेशमा गएर जस्तो सुकै काम गर्न पनि तयार हुने तर स्वदेशमा संघर्ष गर्न हिचकिचाउने गरेको भन्दै उनले युवाहरुले आफ्नो नविन सोच,विचार,जोश र जाँगरलाई सकेसम्म आफ्नै माटोमा लगानी गरेर आफु र आफ्नो देशको भविश्य उज्जवल बनाउन लागी पर्नु पर्ने आवश्यकता औंल्याए ।
हाल रोजगारीका लागि विदेसिने युवाहरुको जमात बढीरहेको भन्दै उनले युवालाई विदेस पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीको सृजना गर्नुपर्ने आवश्यकता महसुस गरेर नगरपालिकाले विभिन्न सीप विकासका तालिमहरु सञ्चालन गर्दै आएको पनि स्पष्ट पारे । हाल पनि ६० जनालाई खाना पकाउने तालिम दिइरहेको र उनिहरुलाई ३ महिनापछि सिधैं रोजगारी प्रदान गरिने र ५० जनालाई फेरी तालिम दिने तयारी रहेको पनि उनले उद्घोष गरे ।
पत्रकार सम्मेलनमा बुनपाकी उपप्रमुख एवम् मेला मूल आयोजक समितिकी सह–संयोजक अनिता लामाले देशमा रोजगारीको सम्भावनालाई उजागर गरि युवालाई विदेश पलायन हुनबाट रोक्नु पर्ने टड्कारो आवश्यकता देखिएको भन्दै ३ वर्ष अघिदेखि नगरपलिकाले यस प्रकारको कार्यक्रमलाई नीति तथा कार्यक्रममै उल्लेख गरेर बजेटसमेत विनियोजन गरि काम गर्दै आइरहेको र हरेक वर्षको मेलाबाट पाठ सिक्दै मेलालाई परिस्कृत र परिमार्जन गर्दै लगिएको बताइन ।

उनले युवा रोजगारी र वृत्ति परामर्शलाई विशेष प्राथमिकतामा राखेर आयोजना गरिएको सो मेलामा २५ सय भन्दा बढी रोजगारदाताहरु तथा व्यवसायिहरुको सहभागिता रहने र कामको खोजिमा रहेका १०० जनालाई तत्काल रोजगारीमा जोड्ने,२०० जनालाई इन्टर्न गर्ने अवसर प्रदान गर्ने,१५० जनालाई साकोमेट्रिक परिक्षण गरि उनीहरुको रुचि,खुबी र क्षमताको आधारमा वृत्ति पहिचान गर्ने अवसर मेलामा प्रदान गरिने जिकिर गरिन ।
बुनपाभित्र ठूला कम्पनीहरुका मालिक तथा उद्योग व्यवसायीहरुको उल्लेख्य संख्यामा स्थायी बसोबास रहेको उजागर गर्दै उनले ति व्यवसायीहरुसँग युवालाई आवश्यकता अनुसारको रोजगार प्रदान गर्ने विषयमा केन्द्रित भएर छलफल गरिरएकोमा उनीहरु निकै उत्साहित बनेको पनि सुनाइन् ।
यस्तै सो पत्रकार सम्मेलनमा नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले मेलामा ४२ वटा स्टल रहने र त्यसमा २० वटा रोजगारदाता, ६ वटा शिक्षा,सीप तथा तालिम प्रदायक,३ वटा उन्नयनशील युवा उद्यम,७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा अन्य विषयका विभिन्न स्टलहरू रहने जानकारी दिए।

मेलालाई सभ्य र भव्य तवरले सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरि कार्यविभाजन गरिएको र नगरपालिका भित्र स्थायी बसोबास गर्ने शिक्षित तथा अशिक्षित बेरोजगार यृवाहरुलाई रोजगार प्रदान गर्ने हेतुले आयोजना गरिएको सो मेलामा सहभागिताका लागि ८०० जनाको आवेदन परेको र ४०० जनाले इन्टर्नसिपको इच्छा व्यक्त गरेको पनि प्रमुख सिंहले बताए । साथै सो मेलामा बुनपा भित्र दर्ता भएका १० हजार व्यवसायीलाई समेत आमन्त्रण गरिएको र हरेक स्कुलका कक्षा,९ र १० का विद्यार्थीहरुलाई बोलाइएको पनि उनले बताए ।
सो पत्रकार सम्मेलनमा कार्यक्रमकी सभाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिकी संयोजक शान्ता ढकालले बजारमा रोजगारीका प्रसस्त सम्भावना रहे तापनि जानकारीका अभावले युवाहरुले रोजगारी र रोजगारदाताले आवश्यक दक्ष युवा जनशक्ति नपाएको गुनासो गरेको पाइएको भन्दै यस प्रकारको कार्यक्रमले दुबैपक्षलाई लाभ मिल्ने बताइन् ।
साथै उनले मेला बारेको प्रचार–प्रसारमा सहयोग गर्न र मेला अवधिको बस्तु स्थतिको समेत व्यापक प्रचार–प्रसार गरिदिन उपस्थित सम्पुर्ण मिडियाकर्मी र पत्रकारहरुलाई आग्रह गर्दै धन्यवाद प्रकट गरिन् ।

खासगरि नगरपालिकामा स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवाहरुलाई सो मेलामा प्राथमिकतामा राखिएको छ।दुई दिनको मेला व्यवस्थापनको लागि करिब १७ लाख बजेट आवश्यक पर्ने नगरपालिकाले अनुमान गरेको जनाएको छ ।यसमध्ये करिब ७ लाख रकम बागमती प्रदेशले सहयोग गर्नेछ।
यस मेलाले युवाहरुको लागि स्वदेशमै धेरै सम्भावना रहेको र देशमा केही छैन,केही हुदैन भनेर युवाहरु निराश बन्नु पर्ने आवश्यकता नरहेको कुरालाई इंगित गरको छ।भने,यसबाट युवा रोजगार र उद्यमशीलताका विषयमा स्थानीय सरकारले थप चासो देखाएको र यसप्रति थप जिम्मेवार बन्दै गएको स्पष्ट संकेत समेत गरेको बुझ्न सकिन्छ।
साथै यसले बुनापा आफ्ना नगरबासिहरुको हित र नगरको विकासमा थप अग्रसर भएर काम गर्ने तयारीमा जुटेको स्पष्ट सन्देश पनि प्रवाह गरेको छ ।जुन निकै स्रहानीय पनि छ।यस प्रकारका कार्यक्रमहरु हरेक नगरपालिकाहरुले गर्नु जरुरी छ।
