जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : ‘प्रचण्ड’

१, फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका बलमा संविधान सभाबाट स्थापित मान्यताहरूलाई एकथरी तत्त्व, विचार र प्रवृत्तिले उल्टयाउने कोसिस गरिरहेको बताएका छन् ।

३० औँ जनयुद्ध दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थापित मान्यतालाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्ने प्रक्रियामा माओवादी रहेको बताएका हुन् ।

अहिले पनि दुईवटा वर्ग, विचार र प्रवृत्तिका बिचमा संघर्ष चलिरहेको प्रचण्डको भनाइ छ । उनले प्रतिकृयावादी वर्ग र शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिएर बुर्जुवा गणतन्त्र वा प्रतिकृयावादी गणतन्त्रमै कैद गर्ने या अझै पछि फर्काएर निरंकुशतातिर लैजाने कोसिस हुनेछ भनेर धेरै वर्षपहिला नै आँकलन गर्दै घोषणा गरेको र आज त्यही स्थिति बनेको बताए ।