
२, फागुन म्याग्दी । सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका(१ बाँस खर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुन्तला खेती हुने गाउँ हो ।
म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नु परेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुन्तला ढुवानी गर्न समस्या भएको बाँस खर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए ।
“साना खालका बुलेरो जिपमा थोरै थोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुपरेको छ”, उनले भने “सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ ।”
दश वर्षअघि स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दूरीको बेनी-बगरफाँट-बाँस खर्कबाहेक बाँसखर्क जोड्ने अरू दुईवटा सडक छन् । बेनी(बगरफाँट(बाँस खर्कभन्दा बेनी(मल्लाज(बाँसखर्क सडक पाँच किलोमिटर र मोहन चोक(मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ ।
