
६, फागुन काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो ।
उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।
छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ ।यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।
