
सीता पौडेल
८ फागुन,काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले कुनै पनि पार्टी र संगठन बलियो बनाउन विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्ने सक्षम,नैतिकवान,इमान्दार र दुरदगामी सोच भएको नेतृत्व आवश्यक पर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश समितिको बुधबार काठमाडौंको बागबजार स्थित हार्दिक होटलको सभाहलमा भएको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले कुनै पनि पार्टी र संगठनमा विचार,नीति र सिद्धान्तमा अडिक भएको,पार्टी र संगठनलाई माया गर्ने,संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई चिनेर परास्त गर्न पहल गर्ने,सबल र सक्षम नेतृत्व आवश्यक पर्ने बताए ।

उनले भने, ‘ संगठनभित्र संगठनात्मक अराजगता बढ्दै गएको छ,नीति सिद्धान्त अनुसार नचल्ने,गुटबन्दी गर्ने व्यक्तिलाई टीका लगाएर नेतृत्व सुम्पिन हुँदैन।मार्क्सवाद र लेलिनवादको सिद्धान्तलाई अक्षरंश पालना गर्ने इमान्दार,अनुशासित र दुरदर्शी नेतृत्व नै आजको आवश्यकता हो ।’ ‘भाषणले रासन पाक्दैन,भाषण गर्न जान्ने मात्र नभएर शासन चलाउन सक्ने नेतृत्व चयन गर्नु जरुरी छ ।’ मन्त्री गुरुङले थपे।
यी गुण भएको,अनुशासित नेतृत्वले नै बैज्ञानिक समाजवादको आधार तयार गरि देशले लिएको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहयोग गर्नुका साथै समग्र देश र राष्ट्रको समुन्नतीमा योगदान पु¥याउन सक्ने भएकाले जुनै पनि संगठनमा यस प्रकारको नेतृत्व आवश्यक पर्ने उनको भनाई थियो।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव समेत रहेका मन्त्री गुरुङले कार्यक्रममा पार्टी र संगठनभित्र अन्तर्घात गर्नेहरुलाई चिनेर नीगरानीमा राखिनु पर्ने र कारवाहीको दायरामा ल्याइनु पर्ने आवश्यकता टड्कारो रहेको पनि बताएका थिए।
उनले जुनसुकै पार्टीबाट जितेर गएका जनप्रतिनिधिहरुले पनि व्यक्तिगत एवम् पार्टीगत स्वार्थलाई त्यागेर नागरिकका हितका लागि दत्तचित्त भएर काम गरे मात्र जनमत आफ्नो पक्षमा पार्न सफल भइने र मिसन ०८४ मा राम्रो परिणाम प्राप्त गर्न सक्ने भन्दै पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने हुँदा जनचाहना अनुसार थप जिम्मेवार बनेर काम गर्न पनि जनप्रतिनिधिलाई सुझाब दिएका छन् ।
वर्तमान परिवेशमा सूचना प्रविधिको विकाससँगै सञ्चार क्षेत्रमा आएको परिवर्तन र यसले समाजमा ल्याएको सकारात्मक र नकरात्मक पक्षलाई केलाउँदै उनले पछिल्लो समय सामाजिक सञ्जालको निकै दुरुपयोग भइरहेको र यसले राष्ट्रिय एकता,स्वाधिनता र स्वाभिमानमाथि प्रहार गरेका कारण यसको नियमन जरुरी देखेर सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) विधयेक ल्याइएको पनि स्पष्ट पारे ।
विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भइ सामाजिक सद्भाव खलबलाउने क्रियाकलाप बढीरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न अर्थात यस्ता विकृति र विसंगतिलाई रोक्न पत्रकारहरुले सत्य,तथ्य र विश्वसनीय समाचार सामाग्री मात्रै सम्प्रेषण गर्न पनि उनले प्रेस चौतारीमा आबद्ध पत्रकारलगायत सबै पत्रकारहरुलाई अग्रह गरे ।अधिवेशनले पुनःश्रीहरि थापाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

