राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण : उपप्रधानमन्त्री सिंह

१९, फागुन काठमाडों । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताएकना छन् ।

अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ ।

“देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” मन्त्री सिंहले भने । राजनीतिक अस्थिरताले पटक पटक छोटो समयका लागि सरकार परिवर्तन हुने भएकोले जनताको चाहना अनुसारको वर्तमान सरकार भएको उनको भनाइ छ ।

संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ ।

उपप्रधानमन्त्री सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास, विस्तार गरेर त्यसबाट आम्दानीको स्रोत बनाउन सकिने भनाइ राखे । दरबारको निर्माणमा बाँकी रहेका काम र मङ्गलसेन बजार क्षेत्रको विकासमा मन्त्रालयबाट सहयोग रहने बताए ।

दरबार हस्तान्तरण कार्यक्रममा अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तव्य राखेको थियो । उपप्रधानमन्त्री सिंहलाई मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले नगरका केही महत्त्वपूर्ण योजनासहितको ज्ञापन पत्र बुझाएको छ ।