‘वास्तविक कृषकलाई अनुदान’

२३, फागुन काठमाडों । कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको बिहीबार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो । मन्त्री अधिकारीले भन्नुभयो, “अनुदानबारे विभिन्न टीकाटिप्पणी हुने गरेको छ ।

त्यसैले अहिले अनुदानको काम रोकेका छौँ । कृषि मन्त्रालयबाट अब किसानको हितमा वास्तविक किसानले पाउने गरेर मात्रै अनुदानको कामलाई अगाडि बढाउने छौँ ।” मन्त्री अधिकारीले नेपालमा अझै पनि ६० प्रतिशत जमिनमा सिँचाइ नभएको भन्दै ती जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषि क्षेत्रबाट नै देशमा समृद्धि ल्याउने र गरिबी घटाउने काममा सरकार लागेको बताउएको छ ।

संविधानमा नै कृषि क्षेत्रको समग्र विकासको जिम्मा स्थानीय सरकारलाई दिने कुरा उल्लेख रहेको भन्दै मन्त्री अधिकारीले मध्यविन्दु नगरपालिकाले यस किसिमको कृषि महोत्सवको आयोजना गरेर नवीनतम कार्यको सुरुवात गरेको भन्दै यसले कृषि उत्पादन र बजारीकरणमा टेवा पुग्ने बताए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नगरप्रमुख भीमलाल अधिकारीले नवीनतम कृषि प्रविधि तथा उपकरणको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्धन र संरक्षण, कृषक उद्यमी तथा प्राविधिकबिच अन्तर्क्रिया गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए ।