साँखुमा आश्रयस्थलको टहरामा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु

२३ फागुन, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।

त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए ।‘हामीले नै नाम राखिदिएको आकाश र सुमन घटनास्तथलमै रहेनन्, अर्का एक जना बाजे हरिजन गम्भिर घाइते हुनुहुन्थ्यो । उनको पनि अस्पतालमा दुःखद निधन भयो,’ थापाले भने ।

उनका अनुसार बिहानै प्रहरी आएर मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याएको थियो । प्रहरीका अनुसार अस्पतालका चिकित्सकले आज बिहान ४ः३३ बजे मृत घोषणा गरेका थिए ।

अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । उक्त टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।