लोक सेवा आयोगहरूको पाँचौँ राष्ट्रिय सम्मेलनस् योग्यता, निष्पक्षता र स्वच्छता कायम राख्ने प्रतिबद्धता

२५, फागुन विराटनगर । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरूबिच पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। फागुन २३ र २४ गते कोशी प्रदेशको विराटनगरमा सम्पन्न सम्मेलनले चार बुँदे प्रतिबद्धतासहित सार्वजनिक प्रशासनलाई सक्षम, पारदर्शी, र निष्पक्ष बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधारमा ध्यान केन्द्रित गरेको छ।

सम्मेलनमा आयोगका पदाधिकारीहरूले योग्यता प्रणालीलाई प्रवर्द्धन गर्ने तथा संरक्षकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। विज्ञप्ति अनुसार, जनशक्ति छनोटमा योग्यता प्रणालीको सिद्धान्तलाई पूर्ण रूपमा पालन गर्ने निर्णय गरिएको छ।

संघीयता अनुरूप सार्वजनिक प्रशासनलाई सक्षम जनशक्ति उपलब्ध गराउने लक्ष्यसहित आयोगलाई उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने पहल गरिने सम्मेलनले स्पष्ट गरेको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत आयोगको कार्यसम्पादनलाई निष्पक्ष, पारदर्शी, र विश्वसनीय बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।