
२, चैत काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा रहेका लगानीको सम्भावनाहरूलाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रही आएको बताए ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत दुवै देशसबिचको सहकार्य अझ मजबुत हुँदैगएको बताए । बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रूपमा लिनुपर्ने बताए ।
सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रूपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबिच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्धन गर्न आवश्यक रहेको बताए ।
नेपाल—चीन सम्बन्ध केवल व्यवसायिक वा आर्थिक सहयोगमा सिमित नरहेको भन्दै सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि सम्बन्ध विस्तार भइरहेको बताए ।
