१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

७, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताए । ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पनि निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न सक्ने व्यवस्था छ’, उनले भने, ‘जस अनुसार निर्वाचन हुन नसकेका क्याम्पसलाई पनि हामीले निर्वाचन गर्न निर्देशन दिइसकेका छौँ ।’

मङ्गलबार भएको निर्वाचनमा देशभर ३८ आङ्गिक र सम्बन्धन प्राप्त २५० क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम अझै जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।