प्रधानमन्त्रीको आग्रह, एसइई धैर्यताका साथ दिनुहोस्

७, चैत काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गरेका छन् । हिजो साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी आजदेखि (बिहीबार) सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन् ।

“विद्यार्थी भाइबहिनीहरू चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस् । मेरो धेरै शुभकामना छ ।”

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुनेभएकाले त्यसबाट जोगिन समेत आग्रह गरेका हुन् । उनले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गरे ।

“पहिले पहिले एसएसलीलाई फलामे ढोका भनिन्थ्यो, त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्” प्रधानमन्त्रीले भन्नुभएको छ, “परीक्षा जीवनका कदम कदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्तीर्ण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।” प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको बताए ।