रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १७ औं सम्मेलनको तयारी पुरा, १५०० रोटरीयनहरु एकैठाउँमा जमघट हुँदै

सीता पौडेल (अर्चना)
७ चैत,काठमाडौं । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) को १७ औं डिस्ट्रिक्ट सम्मेलनको तयारी पुरा भएको छ ।

रोटरी डिस्ट्रिक्ट नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यहि चैत ८ गतेदेखि १० गते (मार्च २१–२३,२०२५) सम्म ललितपुरमा आयोजना हुने सो सम्मेलनको सम्पर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

उक्त पत्रकार सम्मेलनमार्फत रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का राटरी वर्ष २०२४–२०२५ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले विश्वबाट पोलियो उन्मूलन गराउने अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै मानवीय सेवामा समर्पित  रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को सो सम्मेलनमा भूटानको १ क्लब र नेपालका १५७ गरि १५८ क्लबका एक हजार पाँच सय भन्दा बढी रोटरीयनहरुको एकठाउँमा जमघट हुने जानकारी दिए ।

 सम्मेलनबाट रोटरीयन र रोटरी क्लबहरुबीच  ज्ञान,सीप र अनुभवको आदान–प्रदान, सामाजिक सचेतना अभिबुद्धि,सामाजिक,आर्थिक विकास एवम् मानवीय सेवा परियोजनाहरुको थप रणनीति तय गर्न र भावी कार्यदिशा निर्माण गर्न मद्दत पुग्ने गभर्नर शेरचनको भनाई छ।

सो सम्मेलनको रोटरी इन्टरनेशनलका यस वर्षका प्रेसिडेन्ट (आरआइपि) स्टेफनि ए.उर्चिकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यसूचि रहेको पनि उनले जानकारी दिए ।

समाजका विभिन्न क्षेत्रमा सफल नेतृत्व वर्गद्धारा सञ्चालित रोटरी क्लबहरु र रोटरीयनहरुले उच्च नैतिक र सदाचारका मापदण्ड कायम गर्दै विश्वभर सद्भाव तथा शान्ति फैल्याउने,शिक्षा,स्वास्थ्य (रोग निवारण),शुद्ध खानेपानी र सरसफाई,मातृशिशु स्याहार,सामाजिक एवम् आर्थिक विकास,वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनि विष्णु बहादुर कार्कीले बताए ।

गभर्नर नोमिनि कार्कीका अनुसार रोटरीले यस वर्ष  ‘द म्याजिक अफ रोटरी’ (रोटरीको चमत्कार) भन्ने नारालाई मूल मन्त्रको रुपमा अंगिकार गरेर मानवीय तथा समाजिक सेवाका परियोजनाहरु सञ्चानल गर्दै आइरहेको छ ।

उक्त पत्रकार सम्मेलनमा पीडिजी सञ्जय गिरीले विश्वका २२० देशमा ३५ हजार क्लबहरु र १४ लाख सदस्यहरु रहेको अन्तराष्ट्रिय सामाजिक संस्था ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२’ गैरराजनैतिक एवम् गैरधार्मिक र विश्वकै पहिलो सेवामूलक सामाजिक संस्था भएको दाबी गरे।उनले यी विविध क्षेत्रमध्ये रोटरीले स्वास्थ्य र शिक्षामा धेरै ठला ठूला परियोजनाहरु सम्मपन्न गर्न सरकारलाई समेत सहयोग पु¥याउँदै आइरहेको पनि जिकिर गरे । 

उनले भने,‘रोटरीले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, वीर अस्पताल,भक्तपुर क्यान्सर अस्पताल, गङ्गालाल हृदय रोग उपचार केन्द्र,कोशी अञ्चल अस्पताल,शीर मेमोरियल अस्पताल बनेपाको धुलिखेल अस्पताल लगायत नेपालका धेरै वटा अस्पतालमा  विभिन्न अत्याधुनिक उपकरण प्रदान गरेको छ।

वीर अस्पतालको आइसीयू भवन निर्माणमा र त्यहाँ नेपालमा पहिलो पटक भेन्टिलेटर सेवा सञ्चालन पनि रोटरीले गरेको उनले बताए ।साथै रोटरीले पोखरास्थित भरतपोखरीमा २ लाख ४० हजार लिटरको पानी टेङ्की समेत निर्माण गरेको पनि उनले जानकारी दिए ।

सो सम्मेलनबाट वर्ष २०२५–२०२६को नयाँ नेतृत्व समेत चयन गरिने बताइएको छ ।सम्मेलनमा विभिन्न देशबाट समेत अतिथि रोटरियनहरु सहभागी हुने पनि आयोजकले बताएका छन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का अनुसार रोटरीले उक्त कार्यहरुका अलवा आफ्ना रोटरी क्लबहरुमार्फत  विभिन्न किसिमका ग्लोबल ग्रान्ट,भोकेशनल सर्भिस र क्लब सर्भिस प्रोजेक्टहरु मार्फत सामाजिक तथा मानवीय सेवाका थुप्रै सेवा परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ ।