
९, चैत काठमाडों । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५ (२२ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न सबैलाई प्रेरित गरेका छन् ।
राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष २२ मार्चलाई विश्व पानी दिवसका रूपमा मनाइँदै आएको उल्लेख छ।
नेपालमा यस वर्ष ‘हिमनदी संरक्षण’ भन्ने नाराका साथ विविध जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइँदैछ । राष्ट्रपतिले पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको उल्लेख गर्दै पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकसित भएको स्मरण गरेका हुन् । उनका अनुसार जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।
भूमिगत जलस्रोतलाई महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा उल्लेख गर्दै राष्ट्रपतिले यसले पारिस्थितिक प्रणालीलाई दिगो बनाउन, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउने बताएको छ ।
तर बढ्दो शहरीकरण, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तन र प्रदूषणका कारण पानीका स्रोतहरू नष्ट भइरहेको भन्दै उनले जलस्रोत तथा नदी प्रणालीको संरक्षणका लागि समयमै पूर्वसूचना प्रणालीको प्रयोग गरी प्राकृतिक विनाश तथा जनधनको क्षति न्यूनीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
भूमिगत जलस्रोतको अतिदोहन तथा शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह घट्दै गएको राष्ट्रपति पौडेलले उल्लेख गरे । साथै, अव्यवस्थित मानव वस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएकामा उहाँले चिन्ता व्यक्त गरेका छन् ।
